काठमाडौँ- सरकार ईपीएस कोरिया शाखाका निर्देशका गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुवदीलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी गृह मन्त्रालयले दिएको हो।
‘ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको छ,’ गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पानीजहाज निर्माणका लागि आवेदन दिएका युवालाई पुनः निर्माणको काममा जानका लागि भन्दै आवेदन दिन केही युवाहरू शुक्रबार ईपीएस कार्यालय पुगेका थिए। तर ईपीएस कार्यालयले उनीहरूको आवेदन लिएको थिएन। तर उनीहरू जस्तै १८ जनाले भने आवेदन दिन पाएका थिए। आफूहरूलाई विभेद गरिएको भन्दै उनीहरू कार्यालयअघि प्रदर्शन गरेका थिए। उनीहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो। यसपछि बालकुमारीमा पुगेका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका थिए।
दुई युवाको ज्यान गएको बालकुमारी घटनाबारे सरकारले गर्यो यस्ता निर्णय
शुक्रबारको घटनामा जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ को वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको थियो। यो घटनामा गैरजिम्मेवार काम गरेको आरोपमा सुवेदीलाई निलम्बन गरिएको हो।
घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत पीएसओ प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको गृहको भनाइ छ। यस्तै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको जानकारी मन्त्रालयले दिएको हो।
मृतक दुई युवाका परिवारलाई प्रतिपरिवार दश लाख राहत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। घटनाको छानबिन गर्न समिति बनाइएको छ।
ईपीएसको फारम भर्न गएका युवाले मन्त्रीको गाडीमा आगो लगाए [९ तस्बिर]
