झापा- महँगो दरमा ब्याज दिन्छु भन्दै सर्वसाधारणको ३० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लागेका झापाका सुन व्यापारी सोमराज विश्वकर्मा कारागार चलान भएका छन्। झापा गौरादह नगरपालिका-१ मा सुनचाँदी व्यापार गर्दै आएका सोम र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।
विश्वकर्माले आफूहरूलाई ठगी गरेको भन्दै ४७६ जनाले उजुरी दिएका थिए। सोही आधारमा पक्राउ परेका दम्पतीलाई झापा जिल्ला अदालतले जेल चलान गर्न आदेश गरेको हो।
झापा जिल्ला र मोरङका बासिन्दाहरुसँग महँगो व्याजको प्रलोभन देखाई पैसा लिएको तर उक्त रकम फिर्ता नगरेको भन्दै पीडितले उजुरी दिएका थिए।
यसअघि नै विश्वकर्माले गौरादह-१ का वडाध्यक्षलाई सम्बोधन गर्दै पत्र पठाएर आफू टाट पल्टिएकाले रकम फिर्ता गर्न असक्षम रहेको उल्लेख गरेका थिए। यसपछि उनी फरार बने। पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।
उनले बैंक तथा वित्तीय संस्थाबाट पनि ठूलो रकम कर्जाका रूपमा लिएको देखिएको गौरादह नगरपालिकाले गरेको अध्ययनले देखाएको छ। यही प्रकरणमा दुई जना भने अझसम्म फरार रहेको प्रहरीले जानकारी दिएको छ।
विश्वकर्माले आफूबाट लगेको भन्दै रकम दावी गर्नेमध्ये गौरादह नगरपालिकाबासी ८५ प्रतिशत छन्। बाँकी १५ प्रतिशत गौरादहसँगै जोडिएको कमल गाउँपालिका तथा मोरङ, उर्लाबारी र विर्तामोडबाट समेत निवेदन परेको वडा कार्यालयले जनाएको थियो।
विश्वकर्माको गाउँ गौरादह नजिकैको महारानीझोडा मझुवामा पर्छ। उनले त्यो गाउँका स्थानीयसँग मात्र ५ करोडभन्दा बढी रकम उठाएको देखिएको छ।
विश्वकर्मा विगत १ वर्ष अगाडिबाटै व्यावसायिक रुपमा समस्यामा फसिसकेका थिए। सोही समयदेखि नै विश्वकर्माले कोभिड-१९ र आर्थिक मन्दीको बाहना देखाउँदै गौरादहभन्दा बाहिर लुकिछुपी बस्दै आएका थिए। आफ्नो जायजेथा बिक्री गरेर भएपनि व्यवहार मिलाइदिने आवश्वासन सबैलाई दिएका विश्वकर्माले असार १५ गते गौरादह वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीलाई पत्र पठाएपछि गौरादहबासी चकित भएका थिए।
आर्थिक मन्दीका कारण ऋण तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वडाअध्यक्ष भण्डारीलाई सम्बोधन गर्दै गौरादह उद्योग वाणिज्य संघको समन्वयमा आफ्नो व्यवहार मिलाइदिन र आफूलाई नखोज्न भन्दै हस्तलिखित पत्र पठाएका थिए। आफ्नो श्रीसम्पत्ति तथा परिवार छोडेर हिँडेको र कतिपयलाई सावाभन्दा ब्याज बढी दिएको भन्दै उनले आफ्ना ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना पत्रमार्फत गरेका थिए।
करोडौँ ठगेका सोमराजको चलअचल सम्पत्ति रोक्का, कसरी छानबिन गर्दैछ नगरपालिका?


