काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को समानान्तर संस्था दर्ता भएको छ।
परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ)दर्ता गरी प्रमाणपत्र प्रदान गरेको हो।
गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ तथा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
यूएनडीओको अध्यक्षमा सोनाम लामा छन्। लामा एनआरएनएका पूर्वउपाध्यक्ष हुन्।

२०७८ चैतमा एनआरएनएको महाधिवेशनमा विवाद भएपछि लामाले एनआरएनसँग चित्त दुखाएका थिए। २०७८ महाधिवेशनले तीन जना अध्यक्ष चुन्ने निर्णय भएपछि लामा नयाँ संस्था दर्ताका प्रक्रियामा थिए।
२०७९ वैशाख ६ गते यूएनडीओ दर्ताका लागि लामाले २८ मुलुकका ५८ गैरआवासीय नेपालीको हस्ताक्षरसहित समानान्तर संस्था दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। लामा समूहको संस्थामा नेपाली मूलका विदेशी नागरिक मात्रै रहने प्रस्ताव गरिएको थियो।
तर त्यसबेला परराष्ट्र मन्त्रालयले उक्त संस्था दर्ता गर्न अस्वीकार गरेको थियो। यसपछि लामा आफूहरुले प्रस्ताव गरेको संस्था युएनडीओ दर्ताका लागि अन्तरिम आदेशको माग गर्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए।
२०८० साउन १५ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामाको निवेदनमाथि सुनुवाइ गर्दै यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयका नाममा आदेश दिएको थियो। यसपछि नयाँ संस्था दर्ता गर्ने बाटो खुलेको थियो।
युएनडीओ दर्ता भएसँगै गैरआवासीय नेपालीसम्बन्धी वैधानिक रुपमै दुई वटा संस्था बनेका छन्।
गैर आवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा ‘गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैरआवासीय नेपाली संघ खोल्न पाउने’ व्यवस्था छ।
एनआरएनए सन् २००३ मा स्थापना भएको थियो।
नेपाली मूलका विदेशी नागरिक वा विदेशमा स्थायी बसोबासको अनुमति पाएका मात्रै (पिपुल अफ नेपाली ओरिजिन– पीएनओ) लाई मात्र गैरआवासीय नेपाली भन्नुपर्ने पक्षमा लामाले लामो समययता वकालत गर्दै आएका थिए।
सोनामको पक्षमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले पनि छन्। सर्वोच्चले आफूहरुको पक्षमा फैसला गरेकाले त्यसअनुरुप यूएनडीओ दर्ता गरिएको लामाले बताए।
एनआरएनएमा बद्री केसीले जितेको घोषणा, मतगणनामा धाँधली भएको भन्दै नारावाजी
चुनाव हारेपछि बालुवाटार पुगे कांग्रेस-माओवादी निकट एनआरएनए उम्मेदवार
बालुवाटार र साइबर ब्युरो पुग्यो एनआरएनए विवाद, के हो मुख्य कारण?
दुई वर्षपछि एनआरएनए नै नरहने सम्भावना देख्दै छु : सोनाम लामा [अन्तर्वार्ता]
एनआरएनए विवाद राष्ट्रिय तहबाट मिल्ने सम्भावना रहेन, हामी अघि बढिसक्यौँ : सूर्य लम्साल [अन्तर्वार्ता]
एनआरएनए सिध्याउने प्रपञ्च रचिँदै, एमआईएस र हङकङ एनसीसीको वैधतामाथि प्रश्न


